श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सामुदायिक विद्यालयका विद्यार्थीमा प्राविधिक विषयको रुची हुनु सुखद : बालेन साह



काठमाडौं।काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको भन्दै महानगरका लागि शिक्षालाई समयानुकूल परिवर्तन गर्ने अवसर भएको जनाएको छ ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम वौद्धिकता–आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरु सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले बताए ।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पद्मोदय माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई महानगरले प्राविधिक विषयमा अभिमुखीकरण गराएको जानकारी दिए ।

उनले फेसबुकमा लेखेका छन् ‘भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृत्रिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।’

त्यस्तै उनले महानगरले विद्यार्थीको रुचीको आधारमा ‘बुक फ्रि फ्राइडे’ (शुक्रबार) का दिन प्राविधिक सिकाइको विषयलाई पनि समावेश गरेर कक्षा चलाउने जानकारी दिए । उनले अहिलेको समयानुसारको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक परीक्षण र प्रयोग गर्दै सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई प्रविधिमैत्री र प्रतिष्पर्धी शिक्षा प्रदान गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १ : ५० बजे