श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

भ्रष्टाचारको अन्त्य र सुशासन दिन नसके सरकार टिक्दैन : शेखर कोइराला



काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार नटिक्न दाबी गरेका छन् । नेपाली कांग्रेस भक्तपुर–२ प्रदेश सभा (ख)ले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनु पर्ने आवश्यक रहेको बताए ।

‘भ्रष्टाचार र सुशासन यो हामीहरूले आजैदेखि, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु,’ उनले भने, ‘यो अत्यन्त गम्भिर विषय छ ।’ उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्ता गठबन्धन र सरकारले जोड दिनु पर्ने बताए ।

नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन समस्या नहुने बताएका थिए । ‘अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ, नेपालमा प्रचुर सम्भावना छ भन्छ, फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ, तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ, दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ,’ उनले भने ।

यस क्रममा नेता कोइरालाले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १ : १३ बजे