श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कांग्रेसले चलायो ‘गाउँ–गाउँमा कांग्रेस’ १० दिने अभियान



काठमाडौं।नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्न गाउँ पसेको छ । ‘गाउँ–गाउँमा कांग्रेस’ भन्ने १० दिने अभियान सुरु गर्दै कांग्रेस गाउँ पसेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला–जिल्ला केन्द्रीय प्रतिनिधिहरू १० दिने अभियानमा खटिएका छन् ।

केन्द्रीय प्रतिनिधिहरू १६५ वटै निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

जिल्लामा खटिएका नेताहरूबाट पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचनालगायत गठन भए नभएको,स्थानीय सरकार र पार्टीबीचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्नेछन् ।

केन्द्रीय प्रतिनिधिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने लगायतका क्रियाकलापमा सहभागी बनेर कांग्रेसको जिल्लादेखि स्थानीय तहको वास्तविकताबारे प्रतिवेदन तयार गर्ने बताइएको छ ।

कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो । १० दिने कांग्रेस अभियान साउन ३० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ११ : ३१ बजे