श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

मिर्चैया नगरपालिकाद्वारा किसानलाई बाख्रा वितरण



सिरहा।सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरिएको हो ।

नगरप्रमुख श्रवणकुमार यादवले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा हस्तान्तरण गरे। उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारको आर्थिक अवस्था सुधार्दै स्वरोजगार बनाउन र मासु उत्पादनमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले यो नीति अघि सारेको हो ।’

नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका–५ बस्ने चन्द्रकलादेवी महराले बताए ।

गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका–५ का १५, जितमहान बाख्रापालन समूह वडा नम्बर ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नम्बर ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिए ।

उनका अनुसार आव २०७९८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ५७ बजे