श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नगर अस्पताल निर्माणमा ढिलाइ



काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ भएको छ । सम्झौताअनुसार अस्पताल निर्माण गर्ने समय सकिएर म्याद थप गर्दा पनि कामले गति लिन सकेको छैन ।

विसं २०८० जेठ १३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेगरी काठमाडौँको ड्रागन कन्स्ट्रक्सन प्रालिले विसं २०७८ जेठ १४ मा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा भवन निर्माण सम्पन्न नभएपछि आगामी फागुन १३ गतेसम्मका म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताए । उनका अनुसार हालसम्म २३ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । कोरोनालगायत विभिन्न कारण देखाउँदै म्याद थपका लागि माग गरेपछि नौ महिना समय थपिएको प्रवक्ता तिवारीले बताए ।

भवन निर्माणका लागि गैँडाकोट छनौट भएपछि सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । अत्याधुनिक १५ शय्या क्षमताको भवन निर्माणका लागि निर्माण पक्षसँग रू १२ करोड १५ लाख ७८ हजार सम्झौता भएको प्रवक्ता तिवारीले बताए । उनका अनुसार सम्झौताअनुरुप तीन छुट्टाछुट्टै भवन निर्माण गर्नुपर्नेछ ।

तीनमध्ये एउटाको पहिलो तला ढलान भएको, एउटाको डिपिसी मात्रै गरिएको छ भने तेस्रो भवनको डिपिसीका लागि खाल्डो मात्रै खनिएको नगरपालिकाका पूर्वाधार शाखाप्रमुख इन्जिनियर निरजकुमार क्षेत्रीले जानकारी दिए । शव राख्ने भवनको काम सुरु गर्न बाँकी रहेको जानकारी दिँदै उहाँले काम समयमा नै सम्पादन नभएको सम्बन्धमा यसअघि नगरपालिकाले पत्र काटेको जानकारी दिए । नियमित काम गर्दा थपिएको समय सीमाभित्रै निर्माण सम्पन्न हुने उनको भनाइ थियो । वर्षायाममा ठूला ढलान कार्य प्रभावित हुने क्षेत्रीले बताए ।

अस्पताल परिसरमा रहेको बुद्ध मूर्ति र गुम्बालाई स्थानान्तरण गर्न समय लागेकाले निर्माणमा ढिलाइ भएको निर्माण पक्षको दाबी छ । सम्झौता अवधिभित्र कार्य सम्पन्न नहुनाका १३ कारण पेस गरी निर्माण पक्षले म्याद थपको माग गरेको थियो ।

निर्माण कम्पनीका तर्फबाट अमृत भुर्तेलले कोभिडको प्रभाव, कार्यस्थलमा रहेको गुम्बा स्थानान्तरणमा ढिलाइ हुनु, माटो परीक्षणमा समस्या, पेस्की र नगद भुक्तानी समयमा नपाउनु, बजार महङ्गी, सामग्री अभाव, निर्वाचनको असरलगायत कारणले निर्माण प्रभावित भएको बताए ।

अस्पताल व्यवस्थापन समितिका सदस्य एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्द सुवेदीले काठमाडौँबाट ठेकेदार झिकाई काम सुरु गर्न दबाब दिएपछि निर्माणले गति लिएको बताए। “समयमा काम सुरु हुने अवस्था नदेखेपछि ठेक्का रद्द गरी अगाडि बढ्ने तयारी गरिरहेका थियौँ”, उनले भने, “त्यसपछि निर्माण पक्ष कार्यस्थलमा आएर रड झार्ने, खाल्डा खन्नेलगायत काम थालेको छ ।”

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ०१ बजे