श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

महासंघद्वारा पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग



काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङकाबारे समाचार लेखेको भन्दै निजका आफन्तले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्वमहासचिव मगरको नाममा २०८० साउन १६ गते मंगलबार ‘लोकान्तर डट्कम’ मा ‘सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङकाबारे समाचार सम्प्रेषण भएको थियो ।’

सोही विषयलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ (बिन्दु बुढाका) श्रीमान बागलुङ, ढोरपाटन–४, वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भान्जी दीपा श्रेष्ठ, दाइ अमरले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्नेकाम गरिरहेका पूर्वमहासचिव मगरले महासंघलाई जानकारी जनाएका छन् । साथै छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले पनि पूर्वमहासचिव मगरलाई ‘जहाँ भेटिन्छ त्यहीँ मार्ने’ धम्की दिंदै आएको जानकारी प्राप्त भएको महासंघले विज्ञप्तिमाफृत् जनाएको छ ।

समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्नसकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लघंन भएको महासंघले ठानेको छ ।

सुन तस्करीको आरोपमा पक्राउ परेका छिरिङको नाममा पत्रकारमाथि खुलेआम सुरक्षा चुनौती आउनाले पत्रकारको सुरक्षाको विषयमा गम्भीर बनेको महासंघको ठहर छ । महासंघले घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग जोडदार माग गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : २९ बजे