श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन लिदैँ आइतबार बिहान यस्तो बताएका हुन् । उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताए ।

प्रधानमन्त्री प्रचण्डले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणमा मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको उनको भनाइ थियो ।

समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको समृद्धि र विकासमा योगदान पुर्याउन आग्रह गरे । आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिँदै आफ्ना तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए ।

बोर्डको कार्यालयबाट भएका कामले देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० सहित निजी क्षेत्रको लगानी जुटाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजाने कुरामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

बोर्डबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाका रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : २९ बजे