श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

रास्वपामा जोडिने बितिक्कै २०८४ को उम्मेदवार भइँदैन : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपामा जोडिने वित्तिकै २०८४ का लागि उम्मेदवार बनिनहाल्ने स्पष्ट पारेका छन् । रास्वपा सिन्धुली–काठमाडौं सम्पर्क विभागको कार्यक्रममा सम्बोधन गर्दै उनले बताएका हुन् ।

रास्वपामा अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु नभएको उनले बताए । उनले असल साथीहरुलाई पार्टीमा जोड्ने अभियानलाई मिसन २०८४ भनिएको समेत प्रष्ट पारेका छन् । लामिछानेले विभिन्न घटनाहरुलाई लिएर पार्टीप्रति औंला उठाएको भन्दै इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन आग्रह गरे ।

उनले भने, ‘विभिन्न घटनालाई लिएर पार्टीप्रति प्रश्न उठेको छ । यो समाजले जन्माएर हुर्काएर ल्याएको मानिस हो । मानिसहरुले कुन राजनीतिक संस्कार सिक्यो हामी भन्न सक्दैनौं । त्यही राजनीतिक संस्कारबाट आएका पुराना नयाँ साथीहरुबाट यस्ता किसिकमा क्रियाकलाप हुन सक्लान् । तर खबरदार हामीलाई जानकारी पाउने वितिकै घटनाको समाचार छापिनुअघि कारबाही भइसकेको हुनेछ । पार्टीलाई यसमा प्रष्ट निर्देशन छ ।’

उनले थपे, ‘पार्टीसँग खराब हृदय भएका मानिसहरु फाल्न सक्ने तागत छ । पार्टीमा को आउनु हुन्छ को आउनु हुन्छ त्यो भन्न सक्दिनँ यो एउटा भेल हो । यहाँ धेरै मानिसहरु आउन सक्छन् र खराब पात्रहरु आउन सक्छन्, असल पात्रहरु पनि आउन सक्छन् । हामीलाई २०८४ सालसम्म हेर यिनीहरुको यो पनि घटना त्यो पनि घटना त्यहाँ कुटाकुट भयो मारामार भयो भन्ने घटनाहरु ल्याएर उनीहरु उस्तै हुन भन्ने भाष्य सिर्जना गर्न खोजिदैछ । त्यसका लागि चनाखो हुनुपर्नेछ ।’

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १२ : ५२ बजे