श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कांग्रेस नेतृ आरजु देउवा भन्छिन्– शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल भो



काठमाडौं । नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको बताएकी छन्।

मंगलबार बिहान जनकपुरधामस्थित नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको बताइन् ।

‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उनले भनिन्, ‘यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो ।’

नेतृ देउवाले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको विचार व्यक्त गरिन् । शरणार्थी प्रकरणका मुख्य आरोपी सन्देश शर्माको स्वर रहेको अडियो टेपबारे छानबिन गर्न उनले सीआईबीमा उजुरी दिएकी थिइ्रन् । तर सीआईबीले अडियो टेपको वास्तविकता जो पीडित भनिएको उसलाई मात्र दिनुपर्नेमा मिडियामै सार्वजनिक गरिदिएको थियो ।

देउवाले नेपाली कांग्रेस र नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताइन्।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ३७ बजे