श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

आलुलाई ‘ब्रान्डिङ’ गरेर बजारमा



काठमाडौं । गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ‘ब्रान्डिङ’ गरी बजारमा ल्याएको छ । कृषि ज्ञान केन्द्रसँगको समन्वयमा रैथाने आलुलाई बजारमा ल्याइएको हो ।

‘गाउँका कृषकले बजार पाउने, सहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको रैथाने आलुको ब्रान्ड, लेबल र प्याकेजिङसहित आलु यही साउनको सुरुआतसँगै बजारमा पठाइएको हो । ज्ञान केन्द्र र पालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा रैथाने तथा ढोरपाटनको बीउ रोपण गरी तीन सय टन आलु उत्पादन गरिएको छ ।

हालसम्म ब्रान्डिङ गरिएको आलुमध्ये ५० टनभन्दा बढी बिक्री भएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । अर्को वर्ष बुटबल र भैरहवामा चिस्यान केन्द्र स्थापना गरी तीन सय टन आलु बिक्री गर्ने लक्ष्य लिइएको अर्यालले बताए ।

मालिकाको रैथाने आलुमा व्यापारीले मिसावट नगरुन भनेर सदरमुकाम तम्घास, बुटबल र भैरहवाका निश्चित ठाउँबाट मात्रै बिक्रीको व्यवस्था मिलाइएको पालिकाले जनाएको छ । मालिकामा उत्पादन भएको आलु अन्यको भन्दा स्वादिलो भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । मालिकामा वडा नं ३ ह्वाङ्दी, वडा नं ४ अर्खबाङ्ग लगायतका स्थानमा रैथाने आलु उत्पादन हुने गर्दछ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  २ : ५० बजे