श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

भारतले चामल निर्यातमा लगायो प्रतिबन्ध



काठमाडौँ । भारतले गैर–बासमती सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी चाडपर्वमा स्वदेशी आपूर्ति बढाउने तथा खुद्रा मूल्यलाई नियन्त्रणमा राख्ने दृष्टिकोणले भारतले यस्तो निर्णय लिएको बताइएको छ ।

भारतको खाद्य मन्त्रालयको विज्ञप्ति अनुसार निर्यात हुने कुल चामलको करिब २५ प्रतिशत गैर–बासमती सेतो चामलले ओगटेको छ ।

जानकारी अनुसार आर्थिक वर्ष २०२२–२३ मा भारतबाट कुल गैर–बासमती सेतो चामलको निर्यात ४२ लाख डलर नजिक पुगेको थियो । अघिल्लो वर्ष निर्यात २६.२ मिलियन डलर रहेको थियो । भारतले मुख्यतया थाइल्याण्ड, इटाली, स्पेन, श्रीलंका र अमेरिकामा गैर–बासमती चामल निकासी गर्छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले यस विषयमा एक सूचना जारी गरेको छ । सोही अनुसार गैर–बासमती सेतो चामलको निर्यात नीतिलाई निःशुल्कबाट प्रतिबन्धितमा परिमार्जन गरिएको छ । चामलको आन्तरिक मूल्य बढेको भन्दै प्रतिबन्ध लगाउनु परेको विज्ञप्तिमा उल्लेख छ । खुद्रा मूल्य एक वर्षमा ११.५ प्रतिशत र पछिल्लो महिनामा तीन प्रतिशतले बढेको छ ।

भारतले प्रतिबन्ध लगाएपछि भने यसको असर नेपालमा पर्ने देखिएको छ । गत साउनदेखि जेठसम्मको ११ महिनामा मात्र नेपालले भारतबाट १४ अर्ब ४४ करोड बराबरको चामल आयात गरेको भन्सार विभागको आँकडामा देखिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ११ : ५६ बजे