काठमाडौं । काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी तवरले कब्जा गरिएका सरकारी जग्गामा बनेका घरटहराबाट काठमाडौं नगर प्रहरीले डोजर चलाएको छ ।
काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चार दिनअघि मंगलबारसम्मको समय दिएर भौतिक संरचना खाली गर्न अल्टिमेटम दिएर गएका थिए । मंगलबारसम्म खाली नगराएपछि बुधबार बिहानदेखि नगर प्रहरी आफैंले धमाधम सामान हटाएर डोजर चलाएको हो ।
काठमाडौं नगर प्रहरीले अहिले त्यहाँका भौतिक संरचनामा डोजर चलाइरहेको छ । घलेले गैरकानुनी रुपमा नौ रोपनी जग्गा कब्जा गरेकाले समय दिएर खाली गर्न भनेको र नमानेपछि महानगरपालिकाले डोजर चलाएको हो ।
महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।
सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ । सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।