जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

नयाँ सम्बन्धन प्रक्रिया अघि बढाउनुपर्छ : उपकुलपति अर्याल



पोखरा। पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

पोखरा विश्वविद्यालयको २७औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकाले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

‘पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकाले आफैँमा धानिन सक्ने गरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रमा नयाँ कलेजलाई सम्बन्धन दिनुपर्छ’, उनले भने, ‘कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको छ ।’

पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाइडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत भनेको नै विद्यार्थी भएकाले नयाँ–नयाँ ठाउँमा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिए ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह प्राडा अजय थापाले विश्वविद्यालय शून्यबाट सञ्चालन भई आज स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ वटा कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको उल्लेख गर्दै यो गर्व गर्न लायकको रहेको बताए ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा। राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झी कार्य गर्नुपर्ने बताए । उनले विद्यार्थी कलेक्सन नभई सेलेक्सनबाट लिनसक्ने गरी विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारीले पोखरा विश्वविद्यालय सञ्चालनमा धेरै चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै यसको उन्नति र प्रगतिमा सबै एकजुट भएर तन, मन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिए ।

स्थापनाको २६ वर्ष पूरा भई २७औँ वर्ष लागेको पोखरा विश्वविद्यालय ऐन, २०५३ विसं २०५४ साउन १ गतेदेखि जारी भई लागू भएकाले हरेक वर्ष साउन १ गतेलाई पोखरा विश्वविद्यालय स्थापना दिवसका रूपमा मनाइँदै आइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : २७ बजे