सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. ४ डुमरियामा बालमैत्री अध्ययन केन्द्रलाई बागमती सेवा समाजले कम्प्युटर हस्तान्तरण गरेको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बागमती सेवा समाज नेपालको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत डुमरियाका बालबालिकाहरुका लागी बालमैत्री अध्ययनकेन्द्र स्थापना गरी ३ वटा कम्प्युटर हस्तान्तरण गरेको हो । अब बालमैत्री अध्ययनकेन्द्रमा बालबालिकाहरुले निशुल्क कम्प्युटर तालीम लिन पाउने भएका छन् ।
बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेस श्रेष्ठ भन्छन्, ‘‘ग्रामीण क्षेत्रका बालबालिकाहरु जो प्राविधिक शिक्षाबाट बञ्चित छन् उनीहरुको परिस्थितिलाई हेरेर हाम्रो बागमती समाजले यो अवधारणा ल्याएको हो ।’
त्यसैगरी हरिपूर्वा नगरपालिका वडा नम्बर ४ डुमरियाका वडा अध्यक्ष नोखेलाल यादव भन्छन्, ‘हामीले गरेका महिनौको परिश्रमले ग्रामीण क्षेत्रका बालबालिकाको लागि तीनवटा कम्प्युटर बागमती समाजले दिएकोमा खुशी छु र म पनि थप तीन वटा कम्प्युटर थप्ने प्रतिबद्धता जनाउँछु । अब यस टोलका गरिब, जेहेन्दार जोखिममा परेका बालबालिकाहरुले कम्प्युटरको ज्ञान लिनेछन् जुन हाम्रो समाजको लागी उदाहरणीय काम हुने छ ।’
बागमती सेवा समाज नेपालको यो सहयोग देखेर गरिब, जेहेन्दार, जोखिममा परेका बालबालिकाहरुले उक्त संस्थालाई समेत दिएको छ ।

