माघ ९, २०८१ बुधबार Wed Jan 22 2025

बालबालिकालाई पालन गर्ने समाजसेवी अमरसिंह



काठमाडौं । तनहुँको भानु नगरपालिका–७ चन्दनीस्थित चण्डिका बालगृहमा २७ विपन्न बालबालिका छन् । गरिबीको रेखामुनी रहेका र विभिन्न समस्यामा परेका ती बालबालिकाले यहाँ आश्रय पाएका छन् ।

उक्त बालगृहमा दश वर्षदेखि विभिन्न ठाउँका बालबालिकाले आश्रय पाएका छन् । बालगृहको मासिक खर्च रु ७५ हजारभन्दा बढी छ । सरकारी निकाय वा सङ्घसंस्थाले यो बालगृह सञ्चालन गरेको होइन ।

स्थानीय समाजसेवी ८५ वर्षीय गुरुङले यो बालगृह सञ्चालन गरिरहनुभएको छ । मासिकरुपमा आउने खर्चको व्यवस्थापन पनि स्वयं गुरुङले नै गर्दै आएका छन् ।

चण्डिका आधारभूत विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका गुरुङले विपन्न बालबालिकालाई आश्रय दिन पाउँदा खुसी लागेको बताए । उनले भने “मलाई सामाजिक काम गर्न पहिलेदेखि रुची हो । गरिबीको रेखामुनि रहेका बालबालिकालाई पालनपोषण गरिरहेको छु । मलाई आत्मसन्तुष्टि छ ।”

अपाङ्गता भएका बालबालिकालाई पनि बालगृहमा राख्न प्रयास गरिए पनि केही प्राविधिक कारणले त्यो सफल हुन नसकेको उनको भनाइ छ । गुरुङका छोराछोरी विदेशमा हुनुहुन्छ । छोराछोरीले नै मासिकरुपमा पैसा पठाइदिने र सोही पैसाबाट बालगृहका बालबच्चाको पालनपोषण गर्न सहयोग पुगेको बताउँछन् । उनले भने , “कुनै सरकारी निकायको सहयोग छैन, मैले व्यक्तिगतरुपमा नै यसको व्यवस्थापन गरिरहेको छु ।”

गुरुङले बालगृह व्यवस्थापनका लागि आफ्ना नाममा रहेको थुप्रै जग्गा बेचिसक्नुभएको छ । “५०÷६० मुर धान उत्पादन हुने जग्गाजमिन पनि बालबाालिकाका निमित्त बेचेँ, अब पाँच÷छ रोपनी खेत बाँकी छ । त्यो पनि आवश्यक परे बालबालिकाको हितमा खर्च गर्न सक्छु,” उन भने ।

८५ वर्षको उमेरसम्म पनि समाजसेवामा सक्रिय हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने , “राम्रो काम गर्नका लागि उमेर बाधक नबन्दो रहेछ, राम्रैसँग खटिरहेको छु जस्तो लाग्छ ।” कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा बालगृह वरपर रहेको जग्गामा फलफूलका बिरुवा रोपण गरिएको छ । बालगृहको अवस्थाका बारेमा जानकारी पाएपछि बालबालिकालाई कृषिसँग जोड्नका लागि सुन्तला, कागती, एभोकाडो, आँप, लिचीका बिरुवा रोपिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार निकट भविष्यमा तरकारी खेतीका लागि पनि सहयोग गरिनेछ ।

उनले भने , “एउटा व्यक्तिको प्रयासले बालगृह सञ्चालन गर्नु सकारात्मक काम हो । असहाय बालबालिकाका लागि सबैको सहयोग आवश्यक छ ।”

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ३ : ३८ बजे