माघ ८, २०८१ मंगलबार Wed Jan 22 2025

स्वास्थ्यचौकीमा औषधि अभाव



काठमाडौं । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो ।

दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए। मङ्गलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्यचौकीमा पुग्दा औषधि अभाव भएको देखिएको उनको भनाइ छ ।

औषधि अभाव छ, आपूर्ति पनि हुन सकेको छैन । बिरामीलाई कसरी उपचार गरौँ”, अनमी तुल्सा विश्वकर्माले भनिन, “औषधि न पालिकाले दिन्छ न त जिल्ला स्वास्थ्यबाट नै आउँछ ।”

औषधिका लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा माग गर्दा पनि हालसम्म औषधि नआएको उनले गुनासो गरिन । “स्वास्थ्यचौकीमा ९८ प्रकारका औषिध हुनुपर्नेमा १० प्रकारका पनि औषधि छैनन्”, उनले भनिन ।

पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले भने, “केही दिनभित्रै जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरी अन्य स्वास्थ्यचौकीमा पठाइनेछ ।”

उक्त स्वास्थ्यचौकीमा औषधिका साथै बीपी सेट, थर्मोमिटरलगायत उपकरणको पनि अभाव भएको छ । उक्त स्वास्थ्यचौकीमा हाल सात जना कर्मचारी कार्यरत भए पनि हाल चार जना मात्र उपस्थित हुने गरेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ०९ बजे