जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न विभागको निर्देशन



काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर यकिन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गरेका छन् ।

‘विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,’ उनले भने,’औषधि ऐन, २०५३ को दफा १२ अनुरूप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।’

महानिर्देशक ढकालले औषधिको गुणस्तर यकिन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  २ : ३४ बजे