सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित किसनपुरकी कञ्चनकुमारी यादवलाई गाउँपालिकाले रु ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।
यादवलाई सो चेक कक्षा १२ पास गरी २० वर्षपछि विवाह गर्ने छोरी र तिनका परिवारलाई प्रोत्साहन स्वरुप अनुदानको रुपमा प्रदान गरिएको हो ।
‘बाल विवाह अन्त्य र शिक्षामा छोरीको पहुँच बृद्धि अभियान’ अन्तर्गत चन्द्रनगर गाउँपालिकाको विशेष पहलमा विवाह मण्डपमै प्रोत्साहन स्वरुपको अनुदान रकम हस्तान्तरण गरिएको हो ।
चन्द्रनगर गाउँपालिकाले यस अगाडि पनि कक्षा १२ पास गरी २० वर्ष उमेरपछि विवाह गर्ने छोरीहरुलाई प्रदान गर्दै आएको छ । उक्त पहलको थालनी गाउँपालिका अध्यक्ष राजकुमार महतोले गरेका हुन् ।