माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

साकेलामा अन्यत्रबाट बसाइँ सरेर आउने परिवारलाई पाँच हजार



खोटाङ । खोटाङको साकेला गाउँपालिकाले बसाइँ सर्नेहरुको सङ्ख्या बढिरहेका कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा जनसङ्ख्यालाई सन्तुलनमा राख्न आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नयाँ नीति अपनाएको छ । गाउँपालिकाले घट्दो जनसङ्ख्यालाई सन्तुलनमा राख्न अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप पाँच हजार नगद रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।

बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधालगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ। ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सम्पन्न १३औँ गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले ३३ करोड ८८ लाख ८१ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ। आगामी आर्थिक वर्षका लागि

गाउँपालिकालाई वित्तीय समानीकरण अनुदानअन्तर्गत सात करोड ११ लाख, राजस्व बाँडफाँडबाट छ करोड ७९ हजार रकम प्राप्त हुने अनुमान गरिएको छ भने ससर्त अनुदानअन्तर्गत रु १६ करोड ४१ लाख तथा विशेष अनुदानअन्तर्गत रु एक करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ४० लाख ९४ हजार, सवारी करबाट २७ लाख ५३ हजार, प्रदेश सशर्त अनुदानतर्फ २९ लाख २५ हजार र पूँजीगततर्फ ३८ लाख ३० हजार रकम प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राईले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । गाउँपालिकालाई सङ्घको समपूरक अनुदान एक करोड ३५ लाख प्राप्त भएको छ भने गाउँपालिकाको आन्तरिक आम्दानी १५ लाख प्रक्षेपण गरिएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ३७ करोड ७४ लाख ७५ हजार रकम विनियोजन गरेकोमा असार–८ गतेसम्म २६ करोड ४७ लाख १८ हजार अर्थात् कूल बजेटको ६२ दशमलव ४५ प्रतिशतमात्र खर्च गरेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमत सदस्यले पारितसमेत गरेको छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : ३० बजे