२८ जेष्ठ २०८३, बिहिबार Fri Jun 12 2026

कामपाकी शैक्षिक मामिला सल्लाहकार अर्यालद्वारा राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन् । अर्यालले काठमाडौंका मेयर बालेन्द्र साहको गतिविधिप्रति असहमति जनाउँदै आफूले पदबाट राजीनामा दिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, मेयर बालेनका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् । एक वर्षअद्धि अर्याललाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए ।

अर्याल टिच फर नेपालको संस्थापकसमेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यसमेत थिइन्। सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र पाँच वर्ष अध्यक्ष भइरहेकी छिन् ।
उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।

महानगरका अनुसार सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत पनि गरेको थियो। उनी हवेली आउटडोर लर्निङ सेन्टरका संस्थापक निर्देशक पनि हुन्।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  २ : ०४ बजे