काठमाडौं । ललितपुर महानगरपालिकाले पर्यटकलाई लक्षित गरी विद्युतीय बस (सटर बस) सञ्चालन गर्ने भएको छ ।
सो बस सञ्चालनका लागि महानगरपालिका र साझा यातायात सहकारी संस्थाबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मेयर चिरीबाबु महर्जनले साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृतलाई तीन करोडको चेक हस्तान्तरण गरे ।
त्यसक्रममा मेयर महर्जनले विद्युतीय बस पाटनको कोर एरियामा सञ्चालन हुने बताए । उनका अनुसार पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेलमा बस सन्चालन हुनेछन् । उनले विद्युतीय बस सन्चालनले पर्यटकको बसाई
लम्याउन सहयोग पुग्ने बताए । यी विद्युतीय बस सञ्चालन भएपछि ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६ वर्ष मुनिका बालबालिका, क, ख वर्गका अपाङ्गता भएका, महानगरले जारी गरेको पास बाहक यात्रुले निस्शुल्क यात्रा गर्न पाउने छन् । यो बस १२ देखि १७ सिटको हुनेछ ।
उनले महानगरपालिकाले हाल विद्युतीय सवारी साधन खरिद गरेको जानकारी दिदैं विद्युतीय सवारी किन्ने नीति लिएको जानकारी दिए । साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले साझा र महानगरबीच विद्युतीय सवारी साधनको सन्दर्भमा बलियो सहकार्य हुने बताए ।