जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा



नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा आएको छ।

दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार होइमाङस्थित तामपुन तामाङको घरमा गत जेठ २६ गते देखापरेको झाडावान्ताले दुई बालिकाको निधन भएको छ भने छ जना बिरामीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ। उनका अनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार थालिएको थियो।

नौ जनाको परिवारमध्ये आठ जना सिकिस्त बिरामी भएपछि बुधबार काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार थालिएको थियो। उपचारका क्रममा १० वर्षीया सुनिता तामाङ र पाँच वार्षीया आइसानी तामाङको बिहीबार निधन भएको थियो।

उपचारका क्रममा दुई बालिकाको निधन भएपछि रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमा खटाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचाररत परिवारका बाँकी छ सदस्य मृतक बालिकाको शव लिएर घर फर्किएका छन्।

‘रोग फैलन सक्ने जोखिम भएकाले स्वास्थ्यकर्मीको टोली गाउँमा खटाएका छौँ। बिरामीको परिवारलाई पनि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ’, अध्यक्ष थापाले भने। उनीहरूलाई झाडावान्ता लाग्नुको कारण ‘फुडपोइजन’ देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

झाडावान्ता लागेपछि गाउँको स्वास्थ्य संस्थामा पुगेका उनीहरु थप उपचारका लागि अस्पताल नगएकाले रोगको सङ्क्रमण फैलिएको हुनसक्ने अध्यक्ष थापाको भनाइ थियो।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : १५ बजे