भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन्। शनिबार भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।
अध्यक्ष नेपालले भने, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ। तर हामी कतै विलय हुँदैनौँ, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ब्युँताउन तयार छौँ।”
उनले कम्युनिष्ट सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताए। एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नुपर्ला भनेर ७० वर्षको उमेरहद हटाएको बताउँदै अध्यक्ष नेपालले आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताए।
नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने प्रयास भइरहेको भन्दै उनले राजावादीले टाउको उठाउने कोसिस गरे पनि त्यसलाई सफल हुन नदिने बताए।
कार्यक्रममा कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले सरकारले यस वर्ष मल खरिदका लागि बजेटमार्फत ३० अर्बको बजेट विनियोजन गरेको बताए। उनले भने, “मल खरिदका लागि गत वर्षको जस्तो १५ अर्बले पुग्दैन भनेर यस वर्ष बजेटमै ३० अर्बको सुनिश्चितता गरेका छौँ, यस वर्ष मल अभाव हुन दिँदैनौं ।”
उनले सरकारमा जम्मा दुईवटा मन्त्री लिएर बसेकाले आफ्नो पार्टी निर्णायक नभए पनि समाजवादीको भागमा परेका दुई मन्त्रालयको जिम्मेवारी भने पूरा गर्ने बताए। उनले कृषि क्षेत्रको विकासका लागि पहल गरेको, बाँझो जमिन उपयोग गर्ने नीति लिएर बजेट छुट्याएको, कृषिमा यान्त्रिकीकरण, बजारीकरणको समस्याका लागि पहल सुरु गरेको, सिँचाइको योजना ल्याएको बताए।

