बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

कांग्रेसले असार १ देखि अनलाइनबाट सदस्यता वितरण गर्ने



काठमाडौं । नेपाली कांग्रेसमा साधारण सदस्य बन्न निकै झन्झट छ । परम्परागत र ढर्रावादी शैलीका कारण चाहेर पनि धेरैले कांग्रेसको सदस्य लिन सक्दैनन् । त्यसमाथि कांग्रेसको सदस्य बन्न सिफारिस आवश्यक पर्ने, आफू निकटबाहेक अरुलाई फारम भर्न नदिने प्रवृत्तिका कारण कांग्रेसप्रति मोह कम हुँदै गएको छ ।

कांग्रेसले हाल आफ्नो साधारण सदस्य साढे नौ लाख रहेको जनाएको छ । तर यो एक वर्षको बीचमा झन्डै एक लाख साधारण सदस्य घटेको अनुमान गरिएको छ । उनीहरू धेरै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन् । त्यसैले अहिले आफ्ना साधारण सदस्य र भोटर टिकाइराख्न कांग्रेसले पनि अनलाइनबाटै सदस्यता वितरण गर्ने नीति लिएको छ । धेरैअघिदेखि अनलाइन प्रणालीमा जाने घोषणा गरेको कांग्रेसले त्यसलाई अघि बढाउन सकेको थिएन ।

कांग्रेस महामन्त्री गगन थापाले असार १ गतेदेखि अनलाइनबाट सदस्यता वितरण गर्ने जानकारी दिएका छन् । बिहीबार कांग्रेस धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता अनलाइनमार्फत् वितरण गर्ने व्यवस्था गरिने बताएका हुन् । उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै प्राप्त गर्न सकिने पनि जानकारी दिए ।

पार्टीभित्रको गुट भत्काउन पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लैजानुपर्ने महामन्त्री थापाको भनाइ छ । त्यसक्रममा उनले देश परिवर्तनका लागि सुरुमा आफ्नै पार्टी सुध्रिन जरुरी रहेको बताए । कांग्रेस सुधार्नको निम्ति गुट भत्काउन आवश्यक रहेको कुरालाई उनले कार्यकर्तामाझ विशेष जोड दिएका थिए ।

उनले भदौमा हुने नीति महाधिवेशनबाट कांग्रेसमा धेरै सुधार हुने विश्वास पनि दिलाए । पछिल्लो समय सबै दलले सदस्यता वितरण प्रणालीलाई लचिलो बनाएका छन् । कांग्रेसले पनि समयअनुसार आफूलाई परिमार्जन गर्न लागेको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ११ : ३० बजे