बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

प्रमुख कोइरालाको निर्देशनपछि बसपार्कबाट सुर्तीजन्य पदार्थ बरामद



काठमाडौं । विराटनगर महानगरपालिकाको बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ । अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको भेटिएपछि महानगर प्रमुख नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिएका थिए ।

प्रमुख कोइरालाको निर्देशनपछि महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा पुगेको टोलीले गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । पछिल्लो समय प्रमुख कोइरालाले सरसफाइ, विकास निर्माण, सुर्तीजन्य पदार्थ, खुलारूपमा हुने माछामासुको बिक्री–वितरणलगायतका विषयमा अनुगमन कार्यलाई तीव्र पारेका छन् ।

अनुगमनबाट महानगर क्षेत्रमा धेरै प्रभाव परेको र यसबाट बेथिति विस्तारै अन्त्य हुँदै जाने स्थानीय युवा अर्जुन सुवेदीले जानकारी दिए ।

प्रमुख कोइरालाले महानगरको यो अभियानलाई सफल बनाउन सबैले सीमाभित्र रहनुपर्ने बताए ।

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गर्दै आएको छ । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई वैशाख १ गतेदेखि नै निषेध गरेको छ । आगामी साउन १ गतेदेखि महानगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणको अनुमतिपत्र र नवीकरणसमेत नगरिने नगरप्रमुख कोइरालाले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ५५ बजे