बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

नेपालगन्जभित्र विपद प्रतिकार्यका लागि जनशक्ति तयार



काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय जनशक्ति तयार गरिएको छ ।

उपमहानगरपालिका–३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको सो सङ्ख्याका जनशक्ति तयार गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । “हामीले चार सय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौ, जसले विपद्का बेला खोज तथा उद्धारलगायत काम गर्न सकोस”, उनले भने, “उनीहरुका लागि आवश्यक सबै प्रकारका तालिम प्रदान गरिएको छ ।”

उक्त दुई वडा भूकम्पको उच्च जोखिममा रहनाका साथै आगलागी वा अन्य विपद्का घटना हुँदा आवतजावत गर्न कठिनाइ हुने क्षेत्रका रुपमा लिइएको छ । ती वडामा भूकम्प तथा आगलागीका घटनामा समुदायमा चेतना जगाउने काम र भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यासलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका परामर्शदाता डा सुजन मल्लले विपद्मा प्रतिकार्य क्षमता बढाउन नसेकेको बताए । विपद्का लागि बेग्लै चार तहको संयन्त्र आवश्यक परेको र यसका लागि स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

“राज्यको जलवायु परिवर्तनमा बजेट छ तर विपदमा बजेट कम छ” डा मल्लले भने । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्लाई उपमहानगरका तर्फबाट उच्च प्राथमिकता दिइएको जानकारी दिँदै यसमा नागरिकको पनि दायित्व रहेको उल्लेख गरे । उपमहानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शिवप्रसाद रिजालले विपद् पूर्वतयारीका लागि बजेट खर्च गर्न नपाउने प्रावधान रहेकाले कार्यक्रम सञ्चालनमा समस्या आएको छ भने ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत शिव सुवेदीले बीमामार्फत पनि भूकम्पीय जोखिम कम गराउन सकिने चर्चा गर्दै सबै सरोकार भएका समुदाय विपद्मा चनाखो हुन आवश्यक रहेको बताए । विपद्का लागि उपमहानगरपालिकाले विपद् राहत कोषमा रु ८० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  २ : ४५ बजे