बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

प्रधानमन्त्री प्रचण्डले आज संसद्‌मा प्रष्टीकरण दिने



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

सभामुख घिमिरेले प्रचण्डलाई आइतबार नै फोन गर्दै बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका छन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुख घिमिरेले भने, ‘समयमै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबारको संसदमा आफूले प्रस्टीकरण दिने बताएका थिए । ‘म एमाले अध्यक्ष केपी ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सभामुख घिमिरेको निजी सचिवालयले जनायो ।

नागरिकता विधेयक प्रमाणीकरण निष्क्रिय गर्नुपर्ने, भारत भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने भन्दै एमाले, रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । उनीहरूले आज पनि संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ४७ बजे