चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

भारतको हेपाहा प्रवृत्तिप्रति महासंघको आपत्ति



काठमाडौं । अखिल नेपाल किसान महासंघले गतहप्ता भारतले नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका केही ऐतिहासिक भूमि ‘अखण्ड भारत’ नामको नक्सामा समावेश गरी अफ्नो संसद भवनमा नयाँ नक्सा राखेको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित भएकोमा आपत्ति जनाएको छ । भारत सरकारबाट भएको उक्त क्रियाकलापप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको हो ।

कुनै पनि तथ्य र प्रमाणका आधारमा भारतको भूमि नभएको नेपालका ऐतिहासिक भूमिहरुलाई आफ्नो नक्सामा समावेश गर्ने भारत सरकारको कदम आफैंमा आपत्तिजनक रहेको महासंघको ठहर छ । भारत सरकारले यसअघि पनि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरी नेपालको अवमान गरेको महासंघले जनाएको छ ।

नेपालका भूमि अतिक्रमणदेखि नेपालको राजनीतिमा गर्दै आएको प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेपले नेपाल र नेपालीको सार्वभौमतामाथि बारम्बार प्रहार भईरहेको भन्दै महासंघले आपत्ति प्रकट गरेको हो । भारतको यस्तो हस्तक्षेपबाट नेपाली जनता आजित भैसकेका छन् ।

नेपाल सार्वमौमसम्पन्न मूलक हो भन्ने मान्यतालाई वेवास्ता गर्दै भारत सरकारद्वारा निरन्तर रुपमा गरिने यसप्रकारका हस्तक्षेपप्रति महासंघले खेद प्रकट गरेको छ ।

अखण्ड भारत नामको कुनै देश अस्तिस्वमा नरहेको कुरा ऐतिहासिक तथ्यहरुले प्रमाणित गरिसकेको र अस्तित्वमानै नरहेको देशको नाममा मनगणन्ते तरिकाले अन्य देशका ऐतिहासिक स्थानहरु एकतर्फी रुपमा आफ्नो देशको नक्सामा राख्नु आफैमा औपनिवेशिक मानसिकताको उपज भएको महासंघको ठहर छ ।

लामो समयसम्म औपनिवेशकको पिडाबाट मुक्त भएको, विश्वमा नवउदयमान शक्ति राष्ट्रको रुपमा आफूलाई दावी गर्ने देशले छिमेकी देशहरुप्रति गर्ने यस्तो हेपाह र मिचाहा प्रवृतिले भारतप्रतिको दृष्टिकोण नकारात्मक बन्दै गईरहेको महासंघको ठम्याइ छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १० : ०४ बजे