माघ ७, २०८१ सोमबार Mon Jan 20 2025

किसानलाई दुहुनो भैँसी वितरण



काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिईन।

गाउँपालिकाले पालिकालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उनको भनाइ छ । “गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारीमा दुहुनो भैँसी वितरण गरिएको हो”, उपाध्यक्ष तिवारीले भनिन, “कार्यक्रमअन्तर्गत १२ जना किसान छनोटमा परेको भए पनि चार जनालाई भने वितरण गर्न बाँकी छ ।”

गाउँपालिकाको आर्थिक वर्ष २०७९र८० का लागि स्वीकृत पशुपालन भैसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको उनले बताईन । किसानलाई उत्पादनसँग जोडदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुहुनो भैँसी वितरण गरिएको उनको भनाइ छ ।

“दुहुनो भैँसी वितरण गरेपछि पालिकामा दुग्ध उत्पादनसमेत वृद्धि हुने र कृषकलाई आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्छ, उनले भनिन , “यसबाट मासु उत्पादनमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।”

उपाध्यक्ष तिवारीले किसानलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउँदै लैजाने गाउँपालिकाले नीति रहेकाले उत्पादनमुखी कार्यक्रम अघि सार्दै आएको बताईन । अनुदानमा दुहुनो भैँसी पाएपछि किसानसमेत खुसी भएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १ : ३२ बजे