३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

सामाखुसी खोला छोपेर बनाइएका अवैध संरचनामा कामपाले डोजर चलाउने



काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला छोपेर बनाएको दुई वटा घरसहित दर्जनौ टहरा र अवैध रुपमा बनाइएको संरचनाहरु भत्काउने भएको छ ।

ती संरचना भत्काउन समिति बनाएर प्रतिवेदन तयार गरिएको थियो । कामपा शहरी व्यवस्थापन बिभागका विभागीय प्रमुख सुरज शाक्यको संयोजकत्वको बनाइएको प्रतिवेदनको आधारमा ती संरचना हटाउन लागिएको हो । कामपाले आवश्यक हेभी इक्युपमेन्टको खोजी गरिरहेको र एकदुईदिनबाट संरचनामा डोजर चलाउन शुरुगर्ने महानगरपालिकाले जनाएको छ ।

कामपा शहरी व्यवस्थापन विभाग प्रमुख शाक्यले सामाखुसी खोलाको स्थलगत निरीक्षण गरी तयार भएको प्रतिवेदनको आधारमा खोला छोपेर निर्माण गरिएको संरचना डोजर चलाउने तयारी भएको बताएका छन् । उनले भने, ‘सो खोलाले कामपाको ३, १६ र २६ वडाको केहीक्षेत्र ओगटेको छ । त्यसमध्ये पहिलो चरणमा सबैभन्दा बढी क्षेत्रफल ओगटेको वडा नं ३ को करिब ३ किलोमिटर खोलाको भाग खाली गर्न लागेको हो ।’

कामपाले गतवर्ष फागुन १५ गते सामाखुसी खोला वरपर क्षेत्रमा निर्मित अनधिकृत संरचना हटाउन समिति गठन भएको थियो । समितिले सोही महिनाको २६ गते तिलिङगाटार प्रहरी बिटदेखि चिरायु अस्पताल चक्रपथसम्मको स्थलगत निरीक्षणगरी गतवर्ष चैत २२ गते प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन बुझाएको थियो ।सो प्रतिवेदनको आधारमा खोलाको संरचना हटाउन लागिएको हो । प्रतिवेदन तयार गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर प्रहरी बल, सार्वजनिक निर्माण विभागका इन्जिनियर र वडा नं ३ का इन्जिनियर जनप्रतिनिधिसहित १३ सदस्यीय समिति बनेको थियो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले एकदुईदिनभित्र खोलामाथि राखिएको स्ल्याभ खुला गर्ने जानकारी दिए । उनका अनुसार २०६६ साल अघिको मापदण्ड अनुसार दायाँ बायाँ १ मिटर छाड्नुपर्ने व्यवस्था थियो । त्यसपछि ४–४ मिटर छाड्नुपर्ने मापदण्ड बनेको छ, सोही आधारमा खोलाको भाग खुलागर्न लागेका हौ ।’

कामपा प्रहरी बलका प्रमुख पाण्डेले सो क्षेत्रमा खोलामाथि बनेका र मापदण्ड मिचिएका दर्जनौ संरचना हटाउने तयारी भैरहेको बताए । उनले भने, ‘सरकारको निर्णय कार्यान्वयन गर्न सबै सहमति भैसकेको छ, एकदुईदिनपछि काम शुरु गर्नेछौ । सो क्षेत्रमा मोटरसाईकल वर्कसप, विभिन्न सामाजिक संघ संस्थाको भवन, टेलर, खाजाघर लगायतका संरचना रहेका छन् । कामपाले वर्षौदेखि ती संरचना हटाउने प्रयास गरेको थियो । मेयर वालेन्द्र साहले काठमाडौका खोला खुला गर्ने अभियान थालेपछि उक्त कार्यले निरन्तरता पाएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ३६ बजे