सिरहा । सिरहाका अधिकांशक स्थानीय तहहरुमा कर्मचारी अभावका कारण सर्वसाधारणका काम प्रभावित भएका छन् । सिरहाको विष्णुपुर गाउँ पालिका, मिर्चैया र धनगढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहिको काम प्रभावित भएको हो। प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत भ्रष्टाचार मुद्दामा निलम्वित भएपछि विष्णुपुर गाउँपालिकाका यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव सरुवा भएर वडियारपट्टी गाउँपालिका गएपछि मिर्चैया नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ। सरुवा भएका यादवमाथि पनि अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा मुद्दा परेपछि निलम्वनमा परेका छन् ।
दुवैजना प्रशासकीय अधिकृतविरुद्ध सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिकामा कार्यरत रहेको अवस्थामा विकास निर्माणको काममा अनियमितता गरेको भन्दै आयोगले यहि बैशाख ७ गते अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैजना प्रशासकीय अधिकृत, कर्मचारी रजनप्रतिनिधिसहित २३ जनामाथि आरोप पत्र पेश गरेको छ ।
विष्णुपुर गाउँ पालिकामा प्रशासकीय अधिकृत विहिन भएपछि दैनिक प्रशासनिक काम समेत प्रभावित भएको स्थानीयहरु बताउँछन् । विकास निर्माण लगायतका कामकाज तिव्रगतिमा हुनुपर्ने समयमा प्रशासकीय अधिकृत महत निलम्वनमा परेपछि पाइला पाइलामा समस्या आरहेको गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले बताएका छन् ।
प्रशासकीय अधिकृत निलम्वित भएको २० दिन वितिसक्दा पनि कार्यपालिका विवादका कारण निमित्त समेत तोक्न नसकेको एक वडाअध्यक्ष बताएका छन् ।
धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेमाथि कुटपिट घटना पछि उनी कार्यालय आएका छैनन् । उनीमाथि यहि वैशाख १५ गते ग्राभेल व्यवसायीहरुले कार्यकक्षमै ढोका थुनेर कुटपीट गरेका थिए । आर्थिक वर्ष बित्न करिव दुईमहिना मात्र बाँकी रहेपनि अहिलेसम्म धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष ०७९÷८० को करिव ३० प्रतिशत मात्र काम सम्पन्न भएको बताइएको छ ।
अहिले विकास निर्माणको कामलाई गतिदिनेबेलामा प्रमुख प्रशासकिय अधिकृत नहुदा बाँकी काम अगाढी बढ्न नसकेको नाम नबताउने शर्तमा एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘अब प्रशासकीय अधिकृत आएर कामलाई गति दिए पनि ५० प्रतिशतभन्दा बढीकाम गर्न मुस्कील हुन्छ।’
त्यसैगरी मिर्चैया नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निमार्णलगायत सर्वसाधारणका दैनिक कामकाज ठप्प भएका छन् । करिब तीन महिना अगाडि प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको थियो । प्रशासकीय अधिकृतको सरुवा भएपछि तत्काललाई नगरकार्यपालिकाले स्वास्थ्य शाखा प्रमुख विजय महतोलाइ आर्थिक कारोवार बाहेकका कामको जिम्मेवारी दिएको नगर प्रमुख श्रवण यादवले बताएका छन् ।
मिर्चैया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहेको कारण सेवाग्राही मात्र नभई पालिकामा कार्यरत कर्मचारीहरु समेत मार्कामा परेको एक जना कर्मचारीले बताए । उनी भन्छन्, ‘प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको दुई महिना वितिसक्दापनि मन्त्रालयले हाकिम पठाएनन्।, हामीले दुई महिनादेखि तलब नै खान पाएका छैन्,। तलव खान नपाएर धेरै नै समस्या भईरहेको छ।’ यसैगरी सिरहाका अधिकांश स्थानीय तहमा कर्मचारी अभावका कारण विकास निर्माणदेखि सर्वसाधारणका दैनिक कामहरु प्रभावित भएका छन् ।

