काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्ने तय भएको कार्यतालिका स्थगित भएको भएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएपछि सो कार्यतालिका स्थगित भएको हो ।
माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्री र सल्लाहकार एवम् विज्ञलाई नियमित पार्टी कार्यालय पुगेर भेट्ने कार्य तालिका सार्वजनिक गरिएको थियो ।
पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार गत आइतबारदेखि जेठ १५ गतेसम्म प्रधानमन्त्री सहित मन्त्रीको भेटघाट बन्द गरिएको हो ।
आजदेखि स्थगित भएको उक्त भेटघाट कार्यक्रम आगामी जेठ १६ गतेदेखि नियमित कार्य तालिका बमोजिम हुने उपध्यायले जानकारी दिए ।
भेटघाटका लागि तय गरिएको तालिका अनुसार आइतबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सोमबार पर्यटन मन्त्री सुदन किराँती, मङ्गलवार सल्लाहकार र विज्ञसँग भेटघाट र छलफल ,बुधवार सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शुक्रवार प्रधानमन्त्री प्रचण्ड र शनिवार रेखा शर्माले भेट्ने कार्य तालिका बनाइएको थियो । कार्य तालिका बमोजिम बेलुका ४ बजेदेखि ६ बजेसम्म पार्टी कार्यालयमा बसेर प्रधानमन्त्रीसंग भेटघाट गर्ने कार्यतालिका रहेको थियो ।

