काठमाडौं । संसद बैठकमा आफूले बोल्न नपाएको भन्दै प्रतिनिधिसभा भित्रै लुगा खोलेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सामान्य परिवारमा जन्मिएका सिंहले एक्कासि आर्थिक फड्को मार्नु अस्वाभाविक रहेको भन्दै नेपाली कांग्रेस सर्लाहीका स्थानीय नेता विकासकुमार ठाकुरले उजुरी हालेका हुन् ।
आजको प्रतिनिधिसभाको बैठक सुरु भएपछि सांसद सिंहले सभामुख देवराज घिमिरेसँग आफूले बोल्न पाउनुपर्ने माग राखेका थिए । सभामुख घिमिरेले अब शुन्य समय सुरु हुने भनेर घोषणा गर्दै गर्दा उनी आफूले लगाएको कपडा खोलेर अर्धनग्न बनेका थिए ।
गएको मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिइ सर्लाहीको क्षेत्र नं। ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका सिंहले अकुत सम्पत्ति जम्मा गरेको आरोपसहित अख्तियारमा उजुरी हालेका हुन् ।






