जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गरे यस्ता चार निर्णय



काठमाडौं । नव नियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्थ तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
आज (बिहीबार) शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । पदभार सम्हाल्दै बस्नेतले ४ वटा निर्णय गरेका छन् ।

आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सरलीकृत गर्ने र उपलब्ध साधन श्रोतलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्ने मन्त्री बस्नेतले बताएका छन् ।
यस्ता छन् ४ निर्णय
१. स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचार सँगै जीवन सुरक्षाको लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने ।

२. स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकोले दातृ निकाय समेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने ।

३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने ।

४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भईरहेको उपचारात्मक सेवा र उपलब्ध श्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहाय बमोजिमको अनुगमन समिति गठन गर्ने ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ३७ बजे