बैशाख २७, २०८१ बिहिबार Fri May 10 2024

नेपालको तराईं क्षेत्रमा बालविवाहको समस्या भयाबह छ : अध्यक्ष महतो



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले ‘मधेस बालिका सम्मेलन २०८०’ कार्यक्रमको सम्वोधन गरेका छन् । कार्यक्रम मधेश प्रदेश सरकार, महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयसहित २२ वटा साझेदार संस्थाहरुको सहकार्यमा आयोजित गरिएको थियो ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले नेपालमा बालविवाहको मुद्दालाई जसरी अगाडि बढाउनु पर्ने थियो त्यसलाई ओझेलमा पार्दै लगिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महतोले ओझेलमा पारिँदै लगिएको बालविवाहको मुद्दालाई जोड्नको लागि बालिका सम्मेलनको आयोजना गरेकोप्रति मधेश प्रदेश सरकार, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष महतो भन्छन्, ‘२०१५ मा दीगो विकास लक्ष्य अन्तर्गत नेपालले पनि अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्ने प्रतिवद्धतासहित हस्ताक्षर ग-यो । त्यसमा नेपालको प्रतिवद्धता थियो, २०३० सम्ममा बालविवाहको अन्त्य गरिने छ ।’
उनी थप्छन्, ‘जब हामीले २०१५ को दीगो विकास लक्ष्यमा २०३० सम्ममा नेपालबाट बालविवाह अन्त्य गछौं भन्यौं तर वितेका ७ वर्षमा हामीले गरेर बितायौं ? संघीय सरकारले के ग-यो, प्रदेश सकारले के ग-यो र ७५३ वटा स्थानीय सरकारले के गरेर बिताए ?’ । यसरी प्रतिप्रश्न गर्दै अध्यक्ष महतोले नेपालमा अझै पनि बालविवाहको भयाबह अवस्था रहेका बताएका छन् ।

अहिलेसम्म जति डाटा देखाइएको छ त्यसमा १८ वर्ष मुनिको मात्रै देखाइएकोप्रति आपत्ति प्रकट गर्दै २० मुनिका सबै विवाह बालविवाह भएको अध्यक्ष महतोले बताएका छन् । उनले संविधानमा कडा रुपमा यदि मुद्दा उठाइएको छ भने त्यो बालविवाहको मुद्दा उठाइएको भन्दै २० वर्ष मुनिका सबै विवाह, बालविवाह भएको बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष महतोले बालविवाहलाई निरुत्साहित गर्न कानुनहरु बनाइएको तर व्यवहारमा भने लागु नभएको बताएका छन् । नेपालमा बालविवाहको समस्या तराइमा बढी भएको बताउँदै त्यसको न्यूनिकरणको लागि समाजमा जनचेतना जगाउनुपर्ने बताएका छन् । अध्यक्ष महतोले नेपालको तराई क्षेत्रमा बालविवाहको समस्या ३० देखि ३५ प्रतिशत भन्दा बढी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले अहिले पनि हरेक वडावडामा बालविवाहको समस्या देखिएको बताएका छन् । उनले उदाहरणको लागि चन्द्रनगर गाउँपालिकाका वडावडामा त्यो समस्या देखिएको बताए । उनले आफूले बालविवाह अन्त्यका लागि प्रयास गरिरहँदा समस्या ज्यूकात्यूँ रहेको भन्दै त्यसको लागि निकै प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा अध्यक्ष महतोले त्यसको लागि जनस्तरमा चेतना नभएसम्म बालविवाह अन्त्य नहुने बताएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  २ : २२ बजे