बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

सरकारमा आउनुस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका छन् ।

प्रेस सेन्टर चितवनले आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गर्दै भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका हुन् ।

यसअघि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न सरकार तयार नभएकाले समर्थनसमेत फिर्ता लिने बताएका थिए । उनले निर्वाचित भएलगत्तै चितवन २ बाट भनेका थिए, ‘हाम्रो पार्टीको एजेण्डा नीति तथा साझा कार्यक्रममा समेटिएन ।

भ्रष्टाचारको फाइल खोल्ने निर्णय बन्द गरियो । अब सरकारलाई दिएको समर्थन कायम राखिरहनुको औचित्य छैन । चाँडै समर्थन फिर्ता लिनेबारे निर्णय गर्छौ ।’

लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु प¥यो म खोल्न तयार छु ।’
प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि समेटेर नीति तथा कार्यक्रम संशोधन गर्न सकिने बताए ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत प्रचण्डको दाबी छ । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ५ : ०० बजे