बैशाख २७, २०८१ बिहिबार Fri May 10 2024

रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक आइतबार बस्दै छ । बैठक बस्नुअघि रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

आइतबार बिहान भएको भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ। रवि लामिछाने चितवन २ बाट निर्वाचित भएकोमा प्रधानमन्त्री प्रचण्डले बधाई, शुभकामना दिएका थिए । प्रचण्डले लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए।

प्रचण्डले यसअघि नै फोन गरेर रविलाई सरकारमा आउन आग्रह गरिसकेका छन् । तर रास्वपाले सरकारलाई दिएको समर्थन फिर्तौ लिने कि सरकारमा सामेल हुने भन्ने निर्णय गरिसकेको छैन । रास्वपा गृहसहित महत्वपूर्ण मन्त्रालय पाएमा सरकारमा जाने मनस्थितिमा छ ।

रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र संसदीय दलको नेता चयन गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि रास्वपाको संसदीय दलको बैठक बोलाइएको हो ।

केन्द्रीय कार्य समिति र संसदीय दलको बैठकवारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो। रास्वपाले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चुन्दैछ । दोहोरो नागरिकता प्रकरणमा सांसद पद रविको सांसद पद खारेज भएपछि उपसभापति अर्याललाई दलको नेता चुनिएको थियो । अर्यालले शनिबार पदबाट राजीनामा दिएकाले रविलाई नै दलको नेता चयन गर्न लागिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ४४ बजे