बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

विद्यालयको नाम र काममाथि काठमाडौँ महानगरपालिकाको निगरानी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयको नाममाथि निगरानी सुरु गरेको छ । मेयर बालेन शाहले संस्थागत विद्यालयको नाम र काममाथि निगरानी सुरु गरिएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ मा उल्लेख गरिएका बुँदाबारे स्मरण गराउँदै विद्यालयको नाम र चिन्हमा एकरूपता ल्याउन खोजेको बताएका छन् । संस्थागत विद्यालयले नियमावलीअनुसार विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बिचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।

यसैगरी नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ । ‘समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ,’ उनले लेखेका छन्, ‘यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।’

मेयर शाहले संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक, नेसनल वा इन्टरनेसनल शब्द जोड्न चाहेमा सोहीअनुसारको व्यवस्था हुनुपर्ने बताए । ‘संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ सङ्ख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ,’ उनले अगाडि भनेका छन् ।

विद्यालयको चिन्ह र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्ड अनुरूप रहन उनको आग्रह छ । यदि नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने पनि उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ३६ बजे