जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

फोहरमैला व्यवस्थापन गर्न चोकचोकमा सूचना बोर्ड



काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्न सूचना बोर्ड राखेको छ । नगरपालिकाले दमौली बजारको चोकचोकमा अव्यवस्थित तरिकाले फोहर नफाल्न सचेतनाका लागि सूचना बोर्ड र फ्लेक्स राखेको हो ।

नगरपालिकाका सरसफाइ शाखा प्रमुख भाग्यशाली ढुङ्गानाले बजारमा फोहरमैला व्यवस्थापनमा सहयोग गर्न अपिलसहित नगरपालिकाले ‘माइकिङ’ समेत गरेको छ । बजार क्षेत्रमा फोहरमैला जथाभावी फालिँदा वर्षायाम होस् या अन्य समयमा पनि विभिन्न रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले सचेतना जगाउन नगरपालिकाले सूचना बोर्ड र फ्लेक्स राखेको उनले बताए । “फोहरमैला तोकिएको समयबाहेक अन्य समयमा फोहरमैला यत्रतत्र फालिएका खण्डमा फोहरमैला फाल्ने व्यक्तिलाई जरिवाना गरिनेछ”, उनले भने ।

नगरपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि २०७८ अनुसार नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला निष्काशन गरी जताततै राखेमा वा फालेमा कार्यविधि अनुसार जरिवाना गर्ने उनले बताए ।

अटेर गरी कसुर गरेमा कारबाहीस्वरुप जरिवाना गरिनेछ”, उनले भने । उनका अनुसार नगरपालिकाले पहिलो पटक भए रु तीन हजारसम्म जरिवाना गर्ने प्रावधान निर्धारण गरेको छ । दोस्रो पटक सोही कसुर गरेमा रु तीन हजारदेखि सात हजारसम्म जरिवाना र फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुल उपर गर्न सकिने प्रावधान निर्धारण गरिएको छ । स्वच्छ, सफा व्यास नगर बनाउने उद्देश्यले यस्तो सूचना बोर्डमार्फत सचेत नागरिक बनाउन नगरपालिका लागिपरेको उनले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : ४१ बजे