जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । रास्वपाले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

त्यसबेला रास्वपा सरकारमा समेत सहभागी भएको थियो । तर नागरिकता प्रकरणमा आफ्नो सांसद पद गुमेपछि रवि लामिछानेले मन्त्रीबाट राजीनामा दिएका थिए । आफूसँगै उनले पार्टीबाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाएका थिए । सरकारबाट हटे पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको थियो । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिँदा पनि रास्वपाले समर्थन गरेको थियो ।

तर रवि लामिछाने पुनः प्रतिनिधिसभा सदस्यमा विजयी भएलगत्तै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । आफूले अघि सारेका कार्यक्रम र एजेन्डा सरकारको नीति तथा कार्यक्रममा नसमेटेको भन्दै रास्वपाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिन तयारी गरेको हो ।

चितवन २ को उपनिर्वाचनमा जितेलगत्तै रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका थिए । उनले भ्रष्टाचार नियन्त्रणमा सरकार प्रभावकारी नदेखिएको भन्दै समर्थन गरिरहनुको औचित्य सकिएको बताएका थिए । तर औपचारिक निर्णय गर्न बाँकी थियो । अब भने पार्टीको बैठक राखेरै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको महासचिव मुकुल ढकालले जानकारी दिएका छन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड थप कमजोर बन्ने भएका छन् । पहिलोपटक २६८ सांसदको समर्थन पाएका प्रचण्ड दोस्रोपटकको विश्वासको मत लिँदा १७४ मा खुम्चिएका थिए । अब रास्वपाले समर्थन फिर्ता लिएमा उनीसँग १५५ सांसदको मात्र समर्थन रहनेछ । रास्वपासँग अहिले २१ सांसद छन् । रास्वपाले समर्थन फिर्ता लिन लागेपछि प्रचण्ड आत्तिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : २७ बजे