३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धी सार्वजनिक



लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा संघीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ ।

एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संस्थागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धी हासिल गरेको जनाएको छ । यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्यवनका लागि महत्वपूर्ण कार्य भएको, राजधानीका संरचना निर्माण सुरु भएको र आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी १० वटा प्रशासनिक भवन निर्माणले तीव्रता पाएको जानकारी गराइएको छ ।

यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमूना राजधानी सहर निर्माणका लागि २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाइएको कार्यलाई पनि एक सय दिनको उपलब्धीका रुपमा उल्लेख गरिएको छ । प्रदेश सरकारका उपलब्धीलाई संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास लगायतका शीर्षकमा सार्वजनिक गरिएको थियो ।

संस्थागत विकासमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ । यस अवधिमा पूर्वाधार विकासतर्फ २८ किलोमिटर सडक कालोपत्र तथा ढलान गरिएको, पाँचवटा सडक पुल निर्माण भएको, ७३ वटा कल्भर्ट निर्माण भएको, एउटा झोलुङ्गे पुल र १२ वटा सडक ट्रयाक खोलिएको जानकारी दिइएको छ । तर नागरिकले भने सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : २६ बजे