माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

लालपूर्जा बाँड्ने भन्दै मुसहर दलितसँग पैसा असुली गर्दै लोसपा नेता शिव चन्द्र राय



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा – गाउँब्लक जग्गाको लालपूर्जा दिने भन्दै वडा नम्बर ४, गाढा टोलमा मुसहर समुदायका स्थानीयसँग पैसा असुली गरेको पाइएको छ । त्यसरी लालपूर्जा बाँड्ने नाममा मुसहर दलित समुदायसँग लोसपा नेता शिव चन्द्र रायले पैसा असुली गर्दै आएको खुलासा भएको छ ।

गाउँकै पूर्व जनप्रतिनिधि र नापी कार्यालय मलङ्गवाका कर्मचारी भएर तराईको अत्यन्तै पिछडिएको दलित अतिविपन्न मुसहर समुदायसँग जनही एक हजार रुपियाँदेखि तीन हजार रुपियाँसम्म पैसा उठाएको पाइएको हो । साहु महाजनकहाँ दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने मुसहर समुदायले लालपूर्जा पाउने आशमा सयकडा चार रुपियाँ ब्याजमा ऋण काडेरै भए पनि पैसा बुझाउनु परेको दुखेसो पोखेका छन् ।

गाढा टोलका नागेन्द्र माझीले लालपूर्जाका लागि भन्दै आफूसँग तीन हजार रुपियाँ लिइएको गुनासो पोखेका हुन् । “लोसपाका नेता तथा पूर्व वडा सदस्य शिव चन्द्र रायले एक हजार र नापी कार्यालयका कर्मचारीले दुई हजार रुपियाँ मागेर लगे,” माझीले भनेका छन्, “आफूले त पढे लेखेको छैन, पैसा दिनुपर्ने हो कि होइन त्यो पनि थाहा थिएन, लालपूर्जाका लागि पैसा तिर्नुपर्छ होला भनेर तीन हजार रुपियाँ बुझाए ।”

गाढा टोलकै शारदा माझीले लालपूर्जाका लागि आफूले पनि दुई हजार रुपियाँ बुझाएको बताईन् । लोसपाका नेता तथा पूर्व वडा सदस्य शिव चन्द्र रायले घरमै आएर पैसा मागेपछि ऋण गरेर दुई हजार रुपियाँ दिएको माझीको भनाई छ ।

“लालपूर्जा नै पाउने भएपछि आफै काम गर्ने इँटा उद्योगका साहुसँग ऋण काडेर दुई हजार रुपियाँ बुझाएको छु,” माझीले भनिन् । गाढा टोलका कमल माझी, सन्झादेवी माझी, चुल्हिया देवी माझी, सुखल माझी, चन्द्रदेवी यादव, चिन्गी डोम चमारलगायतसँग पैसा उठाइएको छ ।

मुसहर र गाउँका अन्य व्यक्तिले आफूसँग यसरी अवैध रुपमा पैसा उठाइएको भन्दै लोसपाका नेता तथा पूर्व वडा सदस्य शिवचन्द्र राय र गाउँमा जग्गा नाप गर्न आएका नापीका कर्मचारीमाथि छानविन गर्न माग गर्दै गाउँपालिका कार्यालयमा निवेदन नै दिएका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफ्नो गाउँपालिकाभित्र यसरी कुनै पनि नागरिकमाथि हुने अन्याय मान्य नहुने बताए ।

“लालपूर्जाका लागि पैसा उठाएको गुनासो मकहाँ पनि आएको छ, मेरो पालिकामा यस्तो प्रकारको अवैध कार्य क्षम्य हुँदैन्,” गाउँपालिका अध्यक्ष महतोले भने “पीडित मुसहर र अन्यबाट अवैधरुपमा उठाइएको पैसा फिर्ता गराउन पहल गछौँ ।”

गाउँलेसँग पैसा उठाउने लोसपाका नेता तथा पूर्व वडा सदस्य शिवचन्द्र राय भने सम्पर्कमै आएका छैनन् ।

नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरले २५ रुपियाँ दस्तुरबाहेक लालपूर्जाका लागि अतिरिक्त रकम तिर्नु नपर्ने र उठाउन पनि नपाइने बताए । “हामी चन्द्रनगर क्षेत्रमा गाउँब्लकको जग्गाधनीलाई लालपूर्जा बाँड्ने तयारीमै छौँ, त्यहाँ हाम्रो २ नं। नापी टोलीले काम गरिरहेको छ, “नापी कार्यालयका प्रमुख मानन्धरले भने, पैसा नै उठाएको विषयमा म त्यहाँ खटिएको हाम्रो टोलीसँग बुझ्छु ।”

मानन्धरले आफू अहिले नापी कार्यालय र कार्यालयको सेवा सुधारमा लागिपरेको बताएका छन् । उनले चन्द्रनगर गाउँपालिका र ईश्वरपुर नगरपालिकाका प्रमुखसँग तयार भइसकेको गाउँ क्लब जग्गाको लालपूर्जा वितरणका लागि समय मागिरहेको बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ०२ बजे