माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

चन्द्रनगर गाउँपालिकाद्वारा कृषि मिटर जडान थालनी



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानलाई सिँचाइ सुविधाको लागि कृषि मिटर उपलब्ध गराएको छ । गाउँपालिकाले किसानलाई पालिका कार्यालयबाटै किसानहरुलाई सिँचाइमा सुविधा दिन कृषि मिटर दिने योजना अगाडि सारेको हो।

गाउँपालिकाले कृषि मिटर लिनको लागि नेपाल विद्युत् प्राधिकरण कार्यालय धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाबाटै सो कृषि मिटर वितरण गर्ने भएपछि किसानहरु हर्षित भएका छन् । किसानको उब्जनी बढाउन र सिँचाइमा सुविधा दिन विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि विद्युत मिटर लिनेको संख्या ह्वात्तै बढेको छ । विद्युत् मिटर लिन किसानले सदरमुकाम मलंगवा धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्थालाई मध्येनजर गरी पालिकाले यस्तो सुविधा ल्याएको हो ।

गाउँपालिकाले मलंगवा वितरण केन्द्रको समन्वयमा किसानलाई कृषि मिटर वितरण थालेको अध्यक्ष राजकुमार महतोले जनाएका छन् । वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले पहिलो पटक विद्युत् चुहावट मुक्त गर्न अभियानमार्फत विद्युत् प्राधिकरणका कर्मचारी गाउँपालिकाको कार्यालयमा आएर मिटर वितरण गर्न थालेको जनाइएको छ ।

कृषि मिटर जडान गर्न मिटर आवेदन फारम पेस गर्ने, स्वीकृत, मिटर खर्च भौचर, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्नेलगायत सबै खाले काम गाउँपालिकामा भएपछि अब प्राधिकरणले किसानको खेतमा कृषि मिटर जडान गरिदिने प्रमुख यादवको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३३ बजे