काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा उनले कांग्रेसले जेठभित्र नीति अधिवेशन गर्ने तयारी गरिरहेको बताउँदै उक्त अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धिकरणका बारेमा व्यापक छलफल हुने बताएका हुन् ।
“विसं २०८० कांग्रेसलाई सुदृढीकरण र शुद्धीकरण गर्ने वर्ष हुनेछ, पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल गर्नुपर्छ”, उनले भने । कांग्रेसभित्र पुरानो नेताको अनुभव र नयाँ युवाको जोसलाई पार्टीले अगाडि बढाउनुपर्ने उनले बताए ।
महामन्त्री थापाले मुलुक सङ्कट परेको बेलामा सरकारले सुझबुझका साथ काम गर्नुपर्ने औल्याएका छन् । सरकारले जनतालाई महसुस दिने गरी काम गर्नुपर्ने उनको सुझाव छ । उनले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जाने बताए ।
सरकारले राम्रो काम गर्दै गए तीन÷चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो । महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताए ।

