५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह



दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे ।

“भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भने । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले जिकिर गरे ।

नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उनले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उहाँले आफू त्यसैमा केन्द्रित भएको बताएका हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ३९ बजे