विराटनगर । विराटनगर महानगरले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा यस्तो गर्न लागेको हो ।
गत पुस २७ गते बसेको नगर सभाको निर्णयले नगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागेको हो । महानगरले ध्वनि प्रदूषण नियन्त्रण गर्ने योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागेको जनाएको छ ।
केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणका विषयमा छलफल गरेको हो । सो छलफलमा सरोकारवालाहरूले डिजे र सवारीको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका छन्।
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले भनाई छ । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायतका अभियान सञ्चालन गरिरहेको बताएका छन् । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा अगाडी बढाइने बताएका छन् ।
उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकार निकायसँग आग्रह गरेका छन् । “विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ,” मेयर कोइरालाको भनाई छ । त्यस्तै, “सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।”