३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

त्रियुगा नगरपालिकाको नियमित कामकाजप्रति सत्तारूढ दलको असन्तुष्टि



उदयपुर । त्रियुगा नगरपालिकाको नियमित कामकाजप्रति सत्तारूढ दलले असन्तुष्टि जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर कामकाज प्रभावित भएको भन्दै सत्तारूढ दलले असन्तुष्टि जनाएका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको हाजिर नगराएका कारण नगरवासीको सेवा प्रवाहमा गम्भीर प्रभाव परेको भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी पार्टी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नगर कमिटीहरूले तत्काल कामकाज सुरु गर्न माग गरेका छन्।

त्यस्तै, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएका कारण विगत २ महिनादेखि नगरवासीले पाउनु पर्ने सेवा प्रवाह हुन नसकेको तथा अन्य थुप्रै कामकाज प्रभावित हुन पुग्दा जनताले सास्ती भोग्नु परेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, स्थानीय सरकारबाट प्रवाह गर्नुपर्ने सेवा छिटोछरितो, चुस्तदुरुस्त र प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउनु पर्नेमा जोड दिइएको विज्ञप्तिमा भनिएको छ ।

त्रियुगाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलाई मन्त्रालयले गत माघ २७ गते सरुवा गरी उपसचिव सञ्जय राजलबटलाई पठाएको थियो।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : ४६ बजे