माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

चन्द्रनगर गाउँपालिकाका २० कार्यालय ६ वर्षदेखि चोरीको बिजुली प्रयोग गर्दै



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेका २० कार्यालय विगत विगत ६ बिजुलीको मिटर जडान नगरिकन सञ्चालनमा छन् । अन्य कार्यालयहरुले पनि बिजुलीको मिटर जडान गरेको भए तापनि महसुल भने तिरेका छैनन् ।

त्यसरी विजुलीको महसुल नतिर्ने २० वटा कार्यालयमा अधिकांश सरकारी विद्यालय रहेका छन् । बिजुलीको मिटर नराख्ने सबै विद्यालय तथा कार्यालयहरूले ६ वर्षदेखि हुकिङ्ग गरी बिजुली चोरेर कार्यालय चलाउँदै आउने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्न खोज्दा यस्तो तथ्य बाहिरिएको हो । ई हाजिरी लगाउँदा विद्यालयका प्रधानाध्यपकहरुले विद्यालयमा बिद्युत् सुविधा नभएको कारण देखाई ई हाजिरी जोड्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो तथ्य फेला पारेको हो । त्यसपछि गाउँपालिकाले सरकारी कार्यालयमा मिटर जडानको अवस्था सम्बन्धी सर्वे गर्दा अधिकांश विद्यालयमा विगत ६ वर्ष भन्दा बढी समयदेखि विद्युत् चुहावट गरी कार्यालय चलाउँदै आएको पाइएको छ।

हुकिङ गरेर बिजुली चोरी गर्ने २० वटा सरकारी कार्यालयहरू मध्ये १७ विद्यालय र ३ वटा अन्य कार्यालय रहेका छन् । विद्यालयमा ई हाजिरी जडान गर्न जानु अगाडि विद्यालयमा गरिएको अनुगमनको क्रममा गाउँपालिकाभित्रका लगभग सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्युत् सञ्चालनमा रहेको, पखां चली रहेको, धरै जसो विद्यालयमा इन्टरनेट चलेको र कम्प्युटर सञ्चालनमा रहेको पाइएको थियो । तर ई हाजिरी जडान गर्न जाँदा विधुत सञ्चालनमा नरहेको कारण देखाई केही विद्यालयका प्रधानाध्यापकले इ हाजिरी जडान गर्न आनकानी गरेका थिए ।

गाउँपालिका भित्रका १५ कार्यालयहरूले विद्युत् जडान गरे पनि बिल भुक्तानी नगरेको पाइएको छ। यसरी सरकारी कार्यालयबाटै विद्युत् चुहावट भइरहेको जानकारी गाउँपालिकाले पाएसँगै हुकिङ्ग गर्न बन्द गराएको छ । यतिबेला चन्द्रनगर गाउँपालिकाले विद्युत् चुहावट रहित पालिका बनाउने अभियान चलाएको छ । गाउँपालिकाले २० कार्यालयहरूमा मिटर जडान गर्ने योजना बनाइ उक्त कार्य अगाडि बढाई सकेको बताएको छ । गाउँपालिकाले यस अगाडि नै किसानहरूलाई कृषि मिटरसमेत उपलब्ध गराइरहेका छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले विद्युत् मिटर बिनै सञ्चालनमा रहेका विद्यालय तथा अन्य कार्यालयहरूमा तत्काल मिटर जडान गर्न निर्देशन दिएको बताएका छन् । विद्युत् मिटर बिना कार्यालय सञ्चालन गरि रहेका विद्यालयका प्रधानाध्यापक र कार्यालय प्रमुखलाई विधुत मिटर आवेदन फारम गाउँपालिकाले उपलब्ध गराई सकेको छ ।

मिटर आवेदन फारम भरेर गाउँपालिकामा बुझाई सकेका विद्यालयहरूको मिटर जडान दस्तुर गाउँपालिकाले नेपाल विधुत प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउने भएको छ । यसअघिका जनप्रतिनिधिहरूले सरकारी कार्यालयमै भइरहेको बिजुली चोरी कार्य रोक्ने कुनै प्रयास नगरेको र आफूले यो समस्या छिट्टै समाधान गर्ने गाउँपालिका अध्यक्ष महतोले प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : २६ बजे