काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गायक राजेशपायल राईलाई गृहजिल्ला नगर सद्भावना दूत नियुक्त गरेको छ । राई उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । उनलाई चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईले अनुसार ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा दूत नियुक्त गरिएको बताएका छन् ।
नगरपालिकाको उक्त बैठकले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ तथा विज्ञ समूह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाहकार, २८ सदस्यीय समृद्ध नगर स्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ । प्रख्यात चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्षमा नगरपालिकामा अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जनाएका छन् ।