माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयनमा केन्द्रित



कर्णालीका स्थानीय सरकार बजेट कार्यान्वयनलाई जुटेका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न जुटेका हुन् ।

अहिलेसम्म झन्डै ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको बताइएको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने बताएका छन् ।

नगरपालिकाबाट विनियोजित दुई सय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी नगरप्रमुख शाहीले गराएका छन् । नगरपालिकाले चालु आवमा ११ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिसकेको र वैशाख मसान्तसम्म तोकिएको योजनाका लागि विनियोजित रकम भुक्तानी गरिसक्ने जनाइएको छ ।

कालीकोटको पचालझरना गाउँपालिकाले पनि आव २०७९÷८० को हालसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनमा गइसकेको जनाएको छ । गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि नौ करोड रुपैयाँ विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्ने काम भएको बताए ।

उनले भने, ‘भाषण मात्रै होइन व्यावहारिकरुपमा काम हुनुपर्छ । त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ ।’ सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ३ : १९ बजे